अब वकिल नराखी पनि मुद्दा

लक्ष्मी लोहनी सिलवाललाई म्याद थमाउनु थियो । निवेदन लेखाउन वकिल खोज्न अलमलिन लागेकी उनलाई सर्बोच्च अदालतका फाँटवाला योगेन्द्रप्रसाद आचार्यले रोके अनि एउटा फाराम थमाउँदै भने, ‘लौ यो भर्नुहोस ।लक्ष्मी एकछिन अलमल्ल परिन । जब कुरो बुझिन, त्यसपछि खुशीले फुरुङ भइन । उनले वकिलबाट लेखाउन खोजेको निवेदनको टेम्प्लेट(ढाँचा) थियो त्यो । त्यसमा म्याद थाम्न चाहिने बेहोरा सबै उल्लेख थिए । उनले भरिन, अनि फाँटमा बुझाइन् । ‘पहिले घण्टौं लाग्थ्यो, आज एकैछिनमा भयो’, अशं मुद्दाको तारेख लिन आइतबार सर्बोच्च पुगेकी उनले भनिन्,‘वकिल पनि खोज्नु परेन, पैसा पनि तिर्नु परेन । यस्तो पो सुविधा त !

मुद्दामामिला गर्दा अदालतमा दिनुपर्ने विभिन्न निवेदनका ढाँचा सर्बोच्चको बेबसाइटमा उपलब्ध छन र तिनलाई प्रिन्ट गरेर कसैको सहायताविनै निःशुल्क काम लिन सकिन्छ भन्ने तथ्य उनलाई फाँटका कर्मचारीले बुझाएपछि लक्ष्मी फुरुङ थिइन । ‘अर्को पटक निवेदन दिन आउँदा आफैं फाराम भर्नु भए झनै छिटो हुनेछ’, दोहोर्‍याई पाउँ भन्ने फाँटका प्रमुख योगेन्द्रले उनलाई सम्झाए,‘अरुलाई पनि यो सुविधाका बारेमा भनिदिनु होला ।सर्बोच्चले हालै तयार पारेको निवेदनहरुको ढाँचा लक्ष्मीलाई जस्तै धेरैलाई थाहा छैन । अदालत शुल्क दाखिला गर्नेदेखि जरिवानाको रकम फिर्ता लिनेसम्मका ३२ थरी निवेदनका ढाँचा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सर्बोच्चको बेबसाइटमा राख्न धेरै भएको छैन । ‘पचहत्तरै जिल्लामा हामीले यो सेवा सुचारु गरिसक्यौं’, सर्बोच्चका सहरजिष्ट्रार विपुल न्यौपानेले भने ।

आफैं भर्न नसक्नेलाई अदालतका कर्मचारीले भरिदिने गरेका छन् । ‘धेरैलाई यो सुविधाबारे थाहा छैन,’ उनले भने । प्रधानन्यायाधीश श्रेष्ठले सबै नागरिकले न्यायमा सजिलो गरी पहुँच पाउन भनेर सुरु गरेको ‘न्यायमा पहुँच आयोग’ ले यस्तो ढाँचाको विकास गरेको थियो ।कतिपय अधिबक्ताले आफ्नो व्यवसाय खुम्च्याउने कदम भन्दै आलोचना गरे पनि बारले सकरात्मक रुपमा लिएको छ । ‘सेवाग्राहीलाई छरितो हुने गरी थालेको सकरात्मक कदममा बारको सधैं साथ रहनेछ’, बारका उपाध्यक्ष टिकाराम भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.