बलिउड किङ शाहरूख ओरालो लाग्दै

९ वैशाख, काठमाडौँ - बाघ बूढो भए पनि घाँस खान्न भनिन्छ । बलिउडमा किङ खानका नामले चिनिने ५० वर्षीय शाहरूख भने यति बेला करिअरको नाजुक अवस्थाबाट गुज्रिरहेका छन् । गत साता उनको ‘फ्यान’ रिलिज भयो । यसअघिका पाँच वर्षअघि नै उनलाई पहिलो झट्का दिलाएको थियो, फिल्म ‘रा.वन’ ले ।

निर्मातासमेत रहेका शाहरूख उक्त फिल्ममा सुपर हिरो अवतारमा त देखिए तर बक्सअफिसमा सुपर कलेक्सन गर्न सकेनन् । बिग बजेटको फिल्मले शाहरूखलाई चुर्लुम्म डुबायो । त्यसपछि उनी आर्थिक रूपमै संकटग्रस्त भएपछि ‘चेन्नाई एक्सप्रेस’, ‘ह्याप्पी न्यु इयर’, ‘दिलवाले’ जस्ता हावा फिल्म खेल्न थाले । बक्सअफिसमा ती फिल्म ठिकठाक त चले तर ‘किङ’ का फ्यान भने भडकँदै गए । ज्वलन्त उदाहरण उनकै फिल्म ‘फ्यान’ मा देखियो ।

मनीष शर्माको निर्देशनमा सेलिब्रेटी र उसको फ्यान दुवैको भूमिकामा देखिएका शाहरूख कम्तीमा ‘फ्यान’ मा यसअघिका हावा फिल्ममा जस्तो फिक्का थिएनन् । विषयवस्तु पनि उडन्ते थिएन । तर पनि फिल्म अपेक्षाकृत चल्न सकेन । एक सय पाँच करोड भारुमा बनेको ‘फ्यान’ ले स्वदेशी बक्सअफिसमा चार दिनमा मात्र ५८ करोड भारु कलेक्सन गरेको छ । रिलिजको दिन १९ करोड २० लाखको टिकट बेच्न सफल फिल्मको व्यापार त्यसपछि ओरालो लाग्दै गएको थियो । जबकि आइतबार बिदाको दिनमा पनि १७ करोड ७५ लाख भारुमै सीमित भयो । सोमबार त अवस्था लाजमर्दो रह्यो । फिल्मले मात्र छ करोडको व्यापार गर्न पायो । फिल्म भारतमा मात्रै ३५ सय स्क्रिनमा रिलिज भएको थियो । तर फिल्म हेर्न दर्शकले खासै उत्साह देखाइदिएनन् । पैसाकै लागि जस्ता फिल्म पनि खेल्न थालेको भन्दै शाहरूखबाट पछिल्लो समय भडकँदै गएका फ्यानले नै ‘फ्यान’ लाई पत्याइदिएनन् । फिल्ममा शाहरूख फ्यान गौरवको भूमिकामा तुलनात्मक रूपमा बढी सशक्त देखिएका छन् ।

यसअघिको ‘दिलवाले’ पनि रणवीर सिंह र दीपिका पादुकोण अभिनित ‘बाजीराव मस्तानी’ सँग जुधेर नराम्रोसँग पछारिएको थियो । उक्त नतिजाले फिल्मलाई त आर्थिक रूपमा क्षति पुर्‍यायो नै, स्वयं शाहरूखको करिअरमा पनि असर पुग्यो । त्यसैले पनि यतिबेला सिंगल रिलिज पाएर पनि ‘फ्यान’ ले उत्साहप्रद व्यापार गर्न सकेन । झन् यसवर्ष ‘रइस’ सँग सलमान खानको ‘सुल्तान’ जुध्ने भएपछि शाहरूख थप तिलमिलाएका छन् । सम्भवत: उनको प्रोडक्सन हाउसले फिल्मको रिलिज मिति परिवर्तन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.