यस्तो छ चीन-भारत पुरानो विवाद,चीनसँग त्रसित छ भारत चीनले बिस्तार गरिरहेको सडक पूरा भएमा भारतको लागी खतरा हुने भन्दै खैलाबैला
भारत चीनबिचको सीमा विवाद करिब ५८ वर्ष पुरानो हो । चीनले सन् १९५९ मा भारतको ५० हजार वर्गमिटर इलाकामा आफ्नो हक जताएको थियो । भारतले यसको विरोध गर्यो । झगडा बढिरह्यो र अन्त्यमा सन् १९६२ मा चीनले भारतमाथि हमला गर्यो जसमा भारतको हार भयो । अहिले पुनः भारत र चीनबिच करिब एक महिना अघिदेखि सीमा विवाद चर्किएको छ । यसपटक चीनले सिक्किमको इलाका छानेको छ । चीनले यहाँ सडक बिस्तार गरिरहेको छ । यदि यो काम पूरा भए भारतका लागि यो ठूलो खतरा साबित हुने भारतीय संचारमाध्यमले जनाएका छन् । किन भएको थियो सन् १९६२ मा भारत–चीन युद्ध ? पहिलो कारण भारत चीनबिच जम्मू–कश्मिरको अक्साइ चीन र अरुणाचल प्रदेशबाट लगाइएको सीमाको विषयमा विवाद छ । अक्साई चीनमा दुई देशबिच जुन सीमा रहेको छ त्यसलाई जोनसन लाइन र अरुणाचल सीमालाई म्याकमोहन लाइन भनिन्छ । सन् १८९९ मा अक्साई चीनको इलाका बेलायतीले चीनलाई दिए तर सन् १९१८ मा फिर्ता लिइृएको थियो । यसमाथि चीनको बेलायती सरकारसँग विवाद चलिरह्यो । भारत स्वतन्त्र भएपछि अक्साई चीन भारतको हिस्सामा आयो । त्यतिबेलादेखि नै चीन र भारतबिच यो इलाकाबारे विवाद चलिरहेको छ । यसै प्रकारले चीन अरुणाचल सीमालाई विवादित भन्ने गर्दछ । वास्तवमा सन् १९१३–१४ मा बेलायत, चीन र तिब्बतका प्रतिनिधीबिच सीमासम्बन्धि कुराकानी भएको थियो । बेलायती अधिकारी हेनरी म्याकमोहनले सम्झौतासँगै एक नक्शा पेश गरे । यसमा हिमालयलाई आधार मान्दै तिब्बत र भारतको पूर्वी सीमा तय गरिएको थियो । तर चीनलाई उक्त नक्शा मान्य भएन । भारतले स्वतन्त्रता पाएपछि यो विवाद पनि भारतको हिस्सामा आयो । दोस्रो कारण सन् १९५० मा चीनले तिब्बतमाथि कब्जा गर्यो । त्यसपछि त्यहाँ दलाई लामा र उनका अनुयायीहरुले चीनको जमेर विरोध गर्न थाले । चीनियाँ सेनाले उनलाई बन्दी बनाउनुभन्दा पहिले नै सन् १९५९ को मार्च महिनामा दलाई लामा भारत पुगे जुन कुरा चीनलाई चित्त बुझेको थिएन । त्यति बेलादेखि नै चीनले युद्धको तयारी गरेको थियो । कति दिन चल्यो युद्ध ? कसको कति नोक्सानी ? उक्त युद्ध एक महिना चलेको थियो । भारत हार्यो । उक्त युद्धमा १ हजार ३ सय ८३ भारतीय सैनिकको मृत्यु भयो भने १ हजार ४७ घाइते भए । करिब १ हजार ७ सय सैनिक हराए र ३ हजार ९ सय ६८ सैनिकलाई चीनले बन्दी बनाएको बताइएको छ । यस्तै चीनको ७ सय २२ सैनिक मारिए भने १ हजार ६ सय ९७ घाइते भएका थिए ।सन् १९६२ मा नोभेम्बर २० तारिखमा चीनले युद्ध समाप्त भएको घोषणा गर्यो । अहिले के छ विवाद ? चीन सिक्किम सेक्टरको डोकलाम इलाकामा सडक बनाइरहेको छ । डोकलामको पठारमा नै चीन, सिक्किम र भूटानको सीमा जोडिन्छ । भूटान र चीन उक्त इलाकालाई आ–आफ्नो भनि दाबी गर्दछन् । भारतले यो विवादमा भूटानको साथ दिन्छ । भारतमा उक्त इलाकालाई डोकलाम र चीनमा डोंगलांग भनिन्छ । किन सडक बनाउन लागिपरेको छ चीन ? भारतको के छ रणनीति ? चीनले जहाँ सडक बनाइरहेको छ, त्यसै इलाकामा २० किलोमिटर हिस्सा सिक्किम र नर्थ–ईस्टको राज्यलाई भारतको बाँकी हिस्सासँग जोड्ने गर्दछ । यसलाई ‘चिकेन नेक’ पनि भनिन्छ । चीनमा यो इलाकामा दखल बढ्यो भने भारतको कनेक्टिभीटीमा असर पर्नेछ । भारतको थुप्रै इलाका चीनको तोपको सीमाभित्र आउने गर्दछ । चीन आफ्नो सडकलाई डोकलामबाट साउथमा गामोचेनतर्फ बढाउन चाहन्छ । गामोचेनमा भारतको सेक्युरिटी फोर्स तैनाथ छन् । गामोचेनबाट नै जम्फेरी रिज सुरु हुन्छ । यो रिज भूटानको इलाकामा छ । यदि चीनले सडक बिस्तार गरे चीन भुटानको इलाकामा प्रवेश गर्न सफल हुनेछ भने भारतको सिलिगुडी करिडोरमा पनि खतरा पैदा हुनेछ । मानसरोवर यात्राको सिक्किम विवादसँग के सम्बन्ध छ ? मानसरोवर यात्राका लागि नाथु ला नजिकैको बाटो डोकलाम पनि जान्छ । डोकलाममा पनि चीनले सडक बनाइरहेको थियो । चीनले सुरुमा मानसरोवर यात्रा रोकिनुका कारण बताएको थिएन, पछि डोकलामको विषयमा चलिरहेको विवादका कारण यात्रा रोकिएको खुलासा भयो । प्रकाशित मिति :असार २३ शुक्रबार-२०७४


0 comments
Write Down Your Responses