~कतारको जंगलमा टिनले बारेका घरभित्र कि नेपाली, कि बंगाली वा सुडानी युवा हुन सक्छन् । पोल्नका लागि भुंग्रोमा घुसारिएको कन्दमूलजस्तो हालतमा टिनको यी घरमा उनीहरू आफ्नो सरकार र व्यवस्थाका गल्तीहरूको सजाय भोगिरहेजस्ता लाग्छन् ।

जता फर्किए पनि बालुवा मात्रै । दूरदूरसम्म बालुवाको समथर मैदान । अनन्तकालदेखि तिर्खाएको जस्तो लाग्ने यो जमिनमा घामको प्रचण्ड ताप यस्तो छ कि, टाढा देखिने एउटा रूख पनि रापमा हल्लिइरहेजस्तो लाग्छ । यस्तो लाग्छ, धर्तीमुनि कसैले दन्दनी आगो फुकेको छ । टाउकोमाथि झुन्डिइरने घामको त झन् के कुरा † यो गर्मीको ‘आधार इलाका’मा केही नेपाली युवाहरू बाख्रा, भेडा र ऊँटको रखवाली गर्न खटिएका छन् ।बालुवाको यो संसार हो, कतारको सहानिया । राजधानी सहर दोहादेखि केही किलोमिटर दक्षीण पश्चिममा रहेको यो क्षेत्र बाख्रा, भेडा र ऊँटपालनका लागि चिनिन्छ । मुस्किलले एउटा–दुइटा पोथ्रापोथ्री देखिने मरुभूमिलाई यतातिर ‘जंगल’ भनिन्छ । यो जंगलमा कुनै भौतिक संरचना देखियो भने त्यो भेडा, बाख्रा र ऊँटका गोठ हुन् । र, यी गोठका बीचमा टिनले बारेका साना घुम्तीजस्ता घर पनि छन् भने तीभित्र कि त नेपाली, कि बंगाली वा सुडानी युवाहरू हुन सक्छन् । पोल्नका लागि भुंग्रोमा घुसारिएको कन्दमूलजस्तो हालतमा टिनको यो घरमा उनीहरू आफ्नो सरकार र व्यवस्थाका गल्तीहरूको सजाय भोगिरहेजस्ता लाग्छन् । यिनले बगाउने पसिनाले कति वर्ष र कति युगपछि व्यवस्थाका दागहरू पखालिसक्ने हुन्, थाहा छैन । २०४६ सालमा बहुदल आएपछि पासपोर्ट सबैका लागि खुला गरियो । करिब यसै समयमा खाडीको तेलले अन्तर्राष्ट्रिय बजारमा ठूलो भाउ पायो । यो भाउले कतार, साउदी अरेबिया, दुबई, कुबेत, ओमन, बहराइनजस्ता देशहरू धनी भए । धनी देशहरू आफ्ना देशमा पूर्वाधार विकासमा लागे । यसका लागि चाहियो, जनशक्ति । अनि, त्यो काँचो र अदक्ष जनशक्ति सप्लाई गर्न गरिब देशहरू अघि सरे । यो पंक्तिमा नेपाल अग्रस्थानमा रह्यो । भारत र बंगलादेशसँगै नेपाल खाडीमा ‘सस्तो’ जनशक्ति पठाएर चैनले शासन गर्ने देश बन्यो । जम्मा ११ हजार ५ सय ७१ वर्ग किलोमिटर क्षेत्रफल भएको सानो देश कतारको जनसंख्या करिब २३ लाख छ, जसमा १३ प्रतिशत मात्रै कतारी छन्, बाँकी रोजगारीका लागि आएका कामदार छन् । कतारको कुल जनसंख्याको ९२ प्रतिशत मानिसहरू राजधानी दोहा सहर वरपर बसोबास गर्छन् । कतारको प्रतिव्यक्ति आय वर्षको १ लाख ४५ हजार ८ सय ९४ डलर छ । संसारकै सबभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश हो यो । यसको तुलनामा नेपालीको प्रतिव्यक्ति आय निकै न्यून (जम्मा ८ सय ३७ डलर) छ । यही न्यून आयमा पनि कतार, साउदी र मलेसियाजस्ता देशबाट आउने रेमिट्यान्सको ठूलो भूमिका छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार नेपालमा प्रतिपरिवार ६ हजार ५ सय १४ रुपैयाँ मासिक रेमिट्यान्सका रूपमा आउने गरेको छ । ग्रामीण क्षेत्रका परिवारको आम्दानीमा २३.६८ प्रतिशत र सहरी क्षेत्रमा १३.२३ प्रतिशत योगदान रेमिट्यान्सको छ । यस्तो लाग्छ, रेगिस्तानमा उभिएका हरेक नेपाली युवा हरियो पातले ढकमक्क ढाकिएका रूख हुन्, जसका पात बिस्तारै पहेंलिँदै छन् । हिसाब रेमिट्यान्सको मात्र छैन । खाडीबाट हरेक दिन काठका बाकसमा बन्द भएर आउने युवाहरूसँग नेपाली सपनाको केही अंश पनि मरिरहेको छ । नेपाल पत्रकार महासंघ कतारका सचिव नवराज विकका अनुसार अप्रिल महिनामा कतारमा मात्रै २८ नेपाली युवाको मृत्यु भएको थियो । यिनमा सडक दुर्घटनामा मृत्यु हुने र सुतेकै ठाउँमा मृत अवस्थामा भेटिनेको संख्या बढी छ । सन् २०१४ को एउटा तथ्यांकअनुसार कतारमा ५ लाख ४५ हजार भारतीय कामदार, ४ लाख नेपाली कामदार छन् । अघिल्लो बुधबार सहानियाको मरुभूमि पुग्दा बाँकेका दुई दाजुभाइ मुसलमान युवाहरू आफ्नो यस्तै ‘खेमा’मा गर्मी छलेर बसेका थिए । बाहिरको तापक्रम ४६ डिग्री थियो । तर, हावामा पानीको मात्रा नभएकाले होला, घाम साह्रै पोल्ने खालको । यो महिना इस्लाम धर्मावलम्बीका लागि पवित्र रमजानको महिना हो । सूर्योदय हुनुअघि र सूर्यास्तपछि मात्रै पानी र अन्न खाइने हुनाले प्राय: मानिसहरू दिउसो काम पनि गर्दैनन् । अन्य धर्मावलम्बी कामदारका लागि पनि यो समयमा ‘ड्युटी आवर’ दुई घन्टा कम गरिएको छ । साँझ ६:३० बजेपछि मात्र खाना खाइने भएकाले त्यो भेडीगोठका पाँच कामदार दुई नेपाली, दुई बंगाली र एक सुडानी (सबै मुस्लिम धर्माबवलम्बी) रोजा (व्रत) मा थिए । यो गोठमा करिब २ सय जति भेडाबाख्रा र ३०–३५ ऊँट छन् । आफू व्रतमा भए पनि यिनलाई घाँसपानी गर्ने र काँडाको बुट्यान मात्र भएको ‘जंगल’मा चराउने काम रोकिँदैन । मरुभूमिका यी गोठहरू चहार्दा मैले भारतीय लेखक बेन्यामिनको पुस्तक ‘गोट डेज’ निकैपटक सम्झिएँ । दिनेश काफ्लेले ‘खबुज’ नाममा नेपालीमा अनुवाद गरेको यो पुस्तकको मुख्य पात्रजस्तै आफूले कुनै छेकछन्दै नपाई मरुभूमिका गोठमा काम गर्न आइपुग्ने पात्रहरू यहाँ बग्रेल्ती छन् । नेपालगन्जका यी दुवै दाजुभाइलाई पहिले आउँदा आफ्नो काम यस्तो होला भन्ने थाहा थिएन । अहिले भने उनीहरू यसमै अभ्यस्त भएका छन् । ‘काम सजिलो र असजिलो साहु (कपिल) मा भर पर्दोरहेछ, साहु राम्रो छ भने कहिलेकाहीं खानेकुरा पनि ल्याइदिन्छ, बस्ने ठाउँमा एसी जोडिदिन्छ । साहु दुष्ट छ भने धेरै दु:ख पाइन्छ,’ पत्रिकामा आफ्नो नाम र तस्बिर छापिएको मन नपराउने दाजुचाहिँले भने । केही भने आफू आएको कम्पनी मन नपरेर, झगडा गरेर भाग्नेहरू पनि यस्ता गोठमा आइपुग्छन् । आफ्नो पासपोर्ट–भिसा कम्पनीमै छोडेर भाग्नेहरू गैरकानुनी कामदारका रूपमा यस्तो कठिन काममा आइपुग्छन् । यसरी नै कम्पनी छोडेर मजरा (बारी) मा काम गर्न आइपुगेका कास्कीका लालबहादुर परियार आठ वर्षदेखि घर फर्किएका छैनन् । जमेलिया क्षेत्रमा रहेको कतारीको जग्गामा सिरियनले भाडामा लिएको तरकारी बारीमा उनी काम गर्छन् । दिउसोको दुई बजेतिर काममा निस्किन लाग्दै गर्दा मैले उनलाई सहज भावमा सोधें, ‘यस्तो तातोमा कसरी काम गर्नुहुन्छ, पोल्दैन ?’ उनले पनि त्यस्तै सहज उत्तर दिए, ‘पहिले पोल्थ्यो । अब पोल्दैन, घाम पूरै शरीरमा गडिसक्यो ।’ बारीकै एउटा कुनामा उनीहरूको बस्ने कोठा छ । कोठामा ६ जना छन्, जसमध्ये तीनजना बंगाली हुन् । यो कोठामा उनीजस्तै आफ्नो कम्पनीबाट भागेर आएका अर्का पनि एक नेपाली छन् । ६ महिना पहिले कतार आएका उनलाई कम्पनीले घाममा सिमेन्टका बोरा बोक्ने काम लगाएको थियो । आएको १८ दिनमा नै उनी कम्पनीबाट भागे । चिनजानका साथी मार्फत उनी यो बारीमा लौका फलाउन आइपुगे । यसरी बारी र भेडी गोठमा काम गर्दा सरदर एकजनाले एक हजारदेखि १५ सय रियालसम्म पाउँछन् । १ कतारी रियाल नेपाली रुपैयाँमा लैजादा २८–२९ हुन्छ । ६ वर्षपछि २०२२ को विश्वकप फुटबल आयोजना कतारमा हुँदै छ । यसको तयारीमा अहिले कतारको राजधानी दोहा सहर व्यस्त छ । यसैका लागि दोहा वरपर मात्रै ८ देखि १० वटा नयाँ स्टेडियमको काम थालिएको छ । यी सबै स्टेडियमलाई सहरसँग जोड्ने मेट्रो रेल सेवाका लागि आकाशे पुलहरूको निर्माण धमाधम भइरहेको छ । साथै, नयाँ सडक र राजमार्ग पनि बनिरहेका छन् । यी काममा नेपाली कामदारहरू उल्लेख्य संख्यामा सहभागी छन् । दोहासँगै जोडेर निर्माण गरिएको पर्ल कतार क्षेत्र युरोपियन सहरको आर्किटेक्टमा आधारित रहेर बनाइएको छ । प्राय: हरेक राति इफ्तारपछि कतारीहरू आफ्ना लेम्बरगिनी, रोल्सरोयल, फरारी, मर्सिडिजजस्ता गाडीहरूको यो क्षेत्रमा ‘परेड’ गर्छन् । नेपालीको पसिनाले हरियाली फैलाएको क्षेत्र हो घाँसे मैदान । सयौं बिघामा फैलिएको घाँस खेतीमा नेपाली युवाहरू कार्यरत छन् । घाँस रोप्ने, मेसिनजस्तै फिट गरिएको बाँसका च्यानलबाट सिंचाइ गर्ने, ट्याक्टर चलाएर घाँस काट्ने र मुठा पारेर गाडीमा लोड गर्ने काम मध्यदिनको चर्को घाममा पनि चल्छ । यो मैदानका घाँस मरुभूमिका गोठहरूमा पुर्‍याएर बेच्नेमा सुडानीहरू संलग्न छन् । लामो समयको गृहयुद्धपछि देशमा ठूलो विग्रह र डार्फर क्षेत्रमा भएको ठूलो हिंसाले विस्थापित सुडानीहरू ठूलै संख्यामा कतार आइपुगेका छन् । यही घाँस सहानियाको रेगिस्तानका गोठमा पुग्छ । गोठमा पुग्दा मेसिनले घासलाई सुकाएर परालजस्तो बनाइसकेको हुन्छ । यस्तो लाग्छ, मरुभूमि अनन्त तिर्खामा छ, जति पसिना खन्याए पनि यसको आँत रसाउँदैन । मरुभूमिको रापले हल्लिइरहेजस्तो लाग्ने सहानियाको एक्लो रूख मेरो स्मृतिमा बसेको छ । कता कता खाडीमा खटिएका युवाहरूको बिम्ब बनेर । यस्तो बिम्ब जसमा बिस्तारै घामको राप आँतसम्मै पुग्दै छ। रेमिट्यान्स, मरुभूमि, गोठ र मजराबाहेक कतारमा अरू दुई कुरा उल्लेख्य छन्– नेपाली संघसंस्था र साहित्य । कतारमा करिब १ सय २० जति नेपाली संघसंस्था छन् । कतारमा बसेर कविता, गीत र गजल लेख्नेहरूको पनि कमी छैन । रेगिस्तानी कविको उपनाम पाएका तीर्थसंगम राईलगायत केही कविहरू सनैया, जमेलियादेखि सहानियाका कविलाई गोलबद्ध गर्ने काममा सक्रिय छन् । यस्तै एउटा प्रयास हो, ‘अनेसास नवोदित साहित्यिक वाचन शृंखला ।’ डबली भनिने यो शृंखलामा कतारमा रहेका स्रष्टाहरूले आफ्ना सिर्जना सुनाउँछन् । महिनाको एकपटक हुने वाचनको ५८ औं शृंखला यसपटक भयो । यसबाहेक कतारमा मैथिलभाषी कविहरूको पनि समूह सक्रिय छ । धनुषाका बिन्देश्वर ठाकुरको अगुवाइमा केही कविहरू गोलबद्ध यो समूहले नेपाली र मैथली दुवै भाषाका कवितावाचन गर्छन्, छलफल गर्छन् । श्रवण मुकारुङले केही वर्षअघि कविता लेखेका थिए, ‘भानुभक्त’ शीर्षकमा । अहिलेको समयमा जन्मिएका भानुभक्तहरू रामायण लेख्न मलेसिया पुगिरहेका छन् भन्ने कविताको भनाइ थियो । एक साताको कतार बसाइमा मलाई लाग्यो– कतारमा पनि श्रवण मुकारुङका भानुभक्तहरूले रामायण लेखिरहेका छन् । तर, यो ‘रामायण’मा न त उनीको नाम छ न राम नै उनीहरूले खोजेजस्ता ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.