स्टारडमले फिल्म चल्दैन

१) तपाईं अहिलेकी चल्तीकी नायिका । तर, तपाईंका फिल्ममध्ये व्यावसायिक सफलता निकै कमले पाएका छन् । तपाईंको स्टारडमले फिल्ममा काम नगरेको हो ?



फिल्ममा चल्ने र नचल्ने भन्ने एक जनाको हातमा हुँदैन । यसमा सम्पूर्ण टिमको हात हुन्छ । फिल्ममा मलाई जुन चरित्र दिइएको छ, त्यसलाई न्याय गर्न सक्ने गरी काम गर्ने हो । त्यसबाहेक अरु कुराको अर्थ हुन्न । कथा, कास्ट, फिल्मलाई नै परिवर्तन गर्न म सक्दिनँ । त्यसबाहेक प्रमोसनको कुरामा उहाँहरुको प्लानअनुसार हिँड्ने हो । फिल्म चल्ने/नचल्ने कुरा मेरो हात हुँदैन ।

२) पहिले राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठको स्टारडमले फिल्म चल्थे । बलिउड र हलिउडमा पनि अझैस्टारडमको प्रभाव फिल्मको व्यापारमा देखिन्छ । त्यो प्रभाव अचेल तपाईंलगायत अरु कलाकारमा किन नभएको ?

पहिले राजेश हमालको नामले पनि फिल्म चल्थे । दर्शकहरु अहिले कुनै व्यक्तिलाई हेरेर फिल्म हलमा आउँछन् जस्तो लाग्दैन । फिल्मको कथावस्तु मन प¥यो, ट्रेलर मन प¥यो वा कुनै नयाँ कलाकार छ र त्यसको प्रभाव छ भने हेर्न आउनुहुन्छ । नत्र अहिलेको अवस्थामा कुनै व्यक्तिको स्टारडमले फिल्म चल्छ जस्तो मलाई लाग्दैन ।

३) ‘मसान’ फिल्मबाट अभिनेत्री नीता ढुंगानाले राष्ट्रिय पुरस्कार पाउँदा तपाईं निकै निराश हुनुभयो रे ! आफू फिल्ममा सह–अभिनेत्री भएको अवार्डपछि मात्रै थाहा पाएँ पनि भन्नुभएछ । नीतासँग ईष्र्या किन ?

तपाईंले भने जस्तो म आफैंले कहीँ कतै भनेजस्तो लाग्दैन । तपाईंले कुन अन्तर्वार्ता वा समाचारको कुरा गर्नुभयो, त्यो थाहा भएन । त्यो मैले होइन, अरुहरूले नै भनेका हुन् । नीताले अवार्ड पाउँदा चित्त दुख्यो भन्नुभन्दा पनि मुख्य अभिनेत्रीको भूमिका भनेर अवार्ड दिइसकेपछि त्यो अवार्ड मैले पाउनुपर्छ भन्ने मात्रै हो । अवार्ड नपाउँदा चित्त भने दुखेको थियो । तर, नीताले पाउँदा चित्त दुख्यो भनेको होइन । मुख्य अभिनेत्रीको भूमिकामा दिँदा मलाई दिइनुपथ्र्यो । नीतासँगको सम्बन्ध पहिले पनि राम्रो थियो र अहिले पनि राम्रो नै छ ।

४) कुनै समय ‘म्युजिक भिडियो क्विन’ भनेर चिनिनुहुन्थ्यो । म्युजिक भिडियोमा धेरै देखिँदा फेस भ्यालु घट्छ भन्छन्, त्यसैले पनि अहिले छाड्नुभएको हो ?

मैले कहिल्यै पनि म्युजिक भिडियोलाई छाडेकी छैन । म्युजिक भिडियोमा काम गर्दा छोटो समयमा काम सकिन्छ भने फिल्ममा काम गर्दा एकदेखि डेढ महिनासम्म खटिनुपर्छ । हामीले सोहीअनुसारको कन्ट्र्याक्ट गरेका हुन्छौं । त्यसैले लामो समय फिल्ममा मात्रै दिएको अवस्थामा म्युजिक भिडियोमा कम देखिएको होला तर छाडेको भने होइन ।

जहाँसम्म फेस भ्यालु घट्ने कुरा छ, त्यसमा म विश्वास गर्दिनँ । राम्रो फिल्म छ र कथावस्तुसँग बाँधिएको छ भने त्यो दमदार हुन्छ । जस्तै ः दीपक दाइ र दीपाश्री दिदीहरु टेलिभिजनमा निकै देखिनुहुन्छ । विज्ञापनमा पनि उत्तिकै देखिनुहुन्छ र पनि दर्शकहरु उहाँका फिल्मका लागि हलसम्म आएका छन् ।

५) चलचित्र ‘मुटु’मा तपाईंले मागेजति पैसा लिएर पनि चलचित्रको प्रमोसनमा साथ दिनुभएनछ । फिल्म चल्दैन भन्ने लागेर त्यसो गर्नु भएको हो कि केकी अधिकारी नाम जहाँ पनि चल्छ भन्ने आधारमा घमण्ड बढेको हो ?

दुवै कारण होइनन् । हाम्रो ‘क्रियटिभ डिफरेन्सियस’ले गर्दा हो । हामीबीच विभिन्न कुरामा विवाद भएको थियो । कतिपय कुरा मिडियामा भन्न मिल्दैन । त्यसपछि मैले प्रष्ट रूपमा प्रमोसनबाट बाहिरिएकी हुँ । उहाँहरुले पनि मेरो साथ चाहिँदैन भन्नुभयो । मैले प्रमोसनमा साथ नदिएर फिल्म चलेन भन्नुहुन्छ भने त त्यो अर्कै कुरा हो । तर, दुवैले दुबै पक्षलाई बहिष्कार गरेका हौं ।

६) पढाइमा राम्री हुनुहुन्छ । एमबीए गर्दै हुनुहुन्छ । फिल्म र भिडियोमा पनि व्यस्त हुनुहुन्छ । दुवै क्षेत्र नितान्त असम्बन्धित हुन् । फिल्ममा चल्न छाडेपछि जागिर खानका लागि ब्याकअप योजना हो ?

त्यसरी भन्दा पनि पढाइ एउटा निरन्तरता हो । विकल्प सोचेर एमबीए गरेको होइन । पढाइले कहिल्यै पनि बेफाइदा गर्दैन । फिल्म चलिरहेको खण्डमा पनि म एउटै काम गर्दागर्दै अर्को काम गर्न सक्छु । त्यसका लागि पढाइ आधार हुन सक्छ । मानिसको स्वाभाविक चरित्र हो– एउटै काम गर्दा दिक्क लाग्यो भने वा मन लागेन भने अर्को विकल्प पनि हुन सक्छ भन्ने हिसाबले हो ।

कुनै दिन रहर लागेमा व्यवसाय पनि गरूँला । बैंकमा जागिर खान मन लागे त्यो पनि गरूँला । एकेडेमिक डिग्री छ, त्यसले फाइदा नै पु¥याउँछ । भविष्यमा मेरो सोचाइमा परिवर्तन आउन सक्छ, अवस्थाहरु परिवर्तन हुन सक्छन् । त्यस्तो बेला फिल्म क्षेत्रभन्दा बाहिर जाऊँला पनि । तर, विकल्पका लागि पढेको भन्ने आधारचाहिँ सही हुन सक्दैन ।

७) धेरैजसो अन्तर्वार्तामा ‘मेन्टल्ली डिस्ब्यालेन्स’ भएको भूमिका गर्न चाहन्छु भन्नुभएको छ । तर पाउनुभएको भने छैन । नेपाली रजतपटमा अभिनेता/अभिनेत्रीलाई हेरेर कथा नलेखिने भएर हो ? वा आफूले चाहेको भूमिकाका लागि फिल्म नै बनाउने सोच बनाउनुभएको त छैन ?

अहिलेसम्म मैले सोचेको भूमिकाका लागि कथा लेखिएको छैन । एकपटक दोहोरो चरित्रमा पनि काम गर्न मन छ तर अहिलेसम्म त्यो सौभाग्य मिलेको छैन । आफै‌ले बनाउने अवस्थामा पनि म पुगेकी छैन ।

८) तपाईंको करिअर निर्देशक प्रसन्न पौडेलसँग सुरु भयो । प्रसन्नसँग तपाईंको अफेयरको हल्ला पनि चल्यो । अहिले पनि फिल्म क्षेत्रभन्दा बाहिर कसैसँग गोप्य सम्बन्ध छ भन्ने समाचार आइरहन्छन् । कस्तो सम्बन्ध हो यो ? व्यक्तिगत कुरा भएकाले तपाईंले उत्तर नदिन पनि सक्नुहुन्छ ।

यसमा उत्तर नदिने कुरा हुँदैन । म यसमा मौन बसें भने त्यसलाई स्वीकार गरेको जस्तो देखिएला । अब जोसँग धेरै काम ग¥यो, त्योसँगै नाम जोडिन्छ । त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । चलचित्र क्षेत्रमा काम गरिसकेपछि त्यसलाई सहज रूपमा लिनुपर्छ जस्तो लाग्छ । यद्यपि त्यस्ता कतिपय कुरामा सत्यता हुँदैन ।

प्रस्तुति : कमलकुमार बस्नेत

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.