निरन्तरको अविरल वर्षका कारण १ हजार ५ सय परिवार जोखिममा , विद्यालय भने एक साताका लागि बन्द
राजविराज – निरन्तरको अविरल वर्षका कारण राजविराजस्थित विभिन्न गाउँका १ हजार ५ सय परिवार डुबानको उच्च जोखिममा परेका छन् । गत शुक्रबारको अविरल वर्षका कारण विस्थापितहरू घर फर्कन नपाउ“दै मंगलबारदेखि पुनः परेको पानीले जिल्लाको जनजीवन थप अस्तव्यस्त बनेको छ । मंगलबार र बुधबारको निरन्तर वर्षापछि जिल्लाका खाडो, जिता, बलान, महुली, दुधैलालगायतका खोला र नदीमा आएको बाढीले राजविराज नगरपालिकाका २, ९ र १० वडाका साथै तिलाठी, पकरी, मैनाकडेरी, लौनियाँ, मलेठ, सकरपुरा, रम्पुरा, मल्हनियाँ, रुपनी, बसबिट्टी, लोखरमलगायतका अधिकांश भूभाग डुबानमा परेको छ । गत शुक्रबारको अविरल वर्षाका कारण घरबाट विस्थापित भएका १ हजार परिवारको जनजीवन अझै सामान्य अवस्थामा आइसकेको छैन । तीनदिनपछि पुनः सुरु भएको अविरल वर्षाका कारण प्रभावित क्षेत्रमा क्षेत्रमा चार फिटसम्म पानी जमेको छ । बाढीबाट सर्वाधिक प्रभावित तिलाठीको २, ३, ४, ८ र ९ वडाका ९० घर डुबानमा परेका छन् । घर बाढीले डुबाएपछि केही स्थानीय आफन्तकहाँ आश्रय लिएर बसेका छन् भने केही बिचल्लीमा परेका छन् । बाढीले तिलाठीस्थित भन्सार, प्रहरी पोष्ट र राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको कार्यालयसमेत जलमग्न छ । त्यस्तै महुली खोलाको बाढीले जिल्लाको त्रिकोल र भेडिया तथा दुधैला खोलाको बाढीले रूपनी र वीरेन्द्रबजारका ६० भन्दा घर डुबानमा पारेको छ । लोखरममा घरघरमा बाढीको पानी पसेको छ भने राष्ट्रिय प्राथमिक विद्यालयको खेलमैदान निर्माणका लागि जम्मा गरिएको २० ट्याक्टर माटो र बालुवा बगाएको छ । घरभित्र बाढी पस्दा तिलाठीका २, ३, ४, ८ र ९ वडाका २४ परिवार अन्नपात र भाँडाकुडा छाडेर विस्थापित भएका छन् । सो वडाका अधिकांश अन्नपात र गाईवस्तु साथमा लिएर सुरक्षित स्थान खोज्दै बस्तीबाट बाहिरिएको तिलाठीका देवनारायण यादवले बताए । बाढीले तिलाठी खण्डमा १ सय मिटर सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्डको आवतजावत अवरुद्ध छ । उक्त गाउँका सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ । गाउँमा निजी तथा सरकारी गरी सातवटा विद्यालय छन् । बाढीले जिल्लाको अधिकांश भूभाग जलमग्न बनाउँदा सयौं बिघा जग्गामा लगाइएको अन्नवाली नष्ट भएको पीडित कृषकहरूले बताएका छन् । स्थानीयले राहत सामग्री वितरणभन्दा बाढी नियन्त्रणका लागि दीर्घकालीन उपाय खोज्न सरकारसँग माग गरेका छन् । यता स्थानीय प्रशासनले बाढीले विभिन्न खोलाका भत्काइएका तटबन्ध मर्मत कार्य सुरु गरेको जनाएको छ । निर्माणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै नेपाली सेनासमेत खटेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बुधबार पनि बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । सो क्रममा उनले बाढी नियन्त्रणका लागि भइरहेका प्रयासलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले बाढीबाट हुने क्षति न्यूनीकरण र पीडितको राहत तथा उद्धारलगायतका कार्यमा स्रंोतसाधनले भ्याएसम्म आफूले काम गरिरहेको जनाए । आजको राजधानी दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses