चुनाव जीत्नेले चुरोट, खैनी खान नपाइने, सरकारले ल्यायो यस्तो कडा नियम

काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि नमुना आचारसंहिता तयार पारेको छ। मन्त्रालयले आफूले तयार पारेको आचारसंहिता प्रयोगमा ल्याउन सबै गाउँपालिका र नगरपालिकालाई परिपत्रसमेत गरेको छ। स्थानीय तहको कानुन बनाउन सहयोग गर्ने उद्देश्यले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि नमुना आचारसंहिता तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए। ‘ हामीले तयार पारेको आचारसंहिता सम्बन्धित स्थानीय तहले निर्णय गरेर कार्यान्वयन गर्न सक्छन्’ मन्त्रालयका सहसचिव तामाङले भने ‘ स्थानीय तहको निर्वाचनपछि आउने जनप्रतिनिधलाई सहजीकरण गर्ने उद्देश्यले नै मन्त्रालयले आचारसंहिता तयार पारिदिएको हो।’ मन्त्रालयले हाल जनप्रतिनिधिहरुको आचारसंहिता नबनाइदिएको भए निर्वाचित जनप्रतिनिधि आफैले आफ्नो आचारसंहिता बनाउनैपर्ने तामाङको कथन छ। आचार संहितामा स्थानीय तहका पदाधिकारीले कानुनले तोके बमोजिमका पदाधिकारीलाई पूर्व जानकारी दिई आफूले सेवा दिने स्थान छोड्न नहुने, कानुनले तोकेबमोजिम आफूले पाउने सेवा सुविधा बाहेक स्थानीय तहको स्रोत साधन, नगद वा जिन्सी प्रयोग गर्न नपाउने उल्लेख छ। त्यस्तै पदाधिकारीले आफू संवद्ध दलनिकट कुनै संस्थालाई वा क्षेत्रलाई मात्र लाभ पुग्ने वा सुविधा हुने गरी कुनै योजना र कार्यक्रम कार्यान्वयन गर्न पनि पाउने छैनन्। कुनै जाति समुदायप्रति भेदभाव नगरी कार्य सम्पादन गर्नुपर्ने, कार्यालय परिसरमा वा कार्यालयको प्रयोजन जुनसुकै ठाउँमा काम गर्दा मद्यपान, धुमपान, खैनी र चुरोट सेवन गर्न पाइने छैन। पदाधिकारीले एक अर्काको व्यक्तिगत टिप्पणी गर्न नपाउने आचारसंहितामा उल्लेख छ। राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.