ज्यान जोगाउन दौडादौड डुबानमा परेपछि शनिबारदेखि खानसमेत नपाएका सप्तरी भेडियाका महिला बुधबार बोरा लिएर बाढी छिचोल्दै सुरक्षा र राहतको खोजीमा ३ किमि टाढा पर्ने मयनाकरेडीको सुक्खा स्थानतर्फ जाँदै

असार २२, २०७४- सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत भेडिया टोलका बासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजीमा थिए । गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुन: बाढी आएपछि ज्यान जोगाउन घरबार छोडेर निस्किएका हुन् । महुली खोलाको बाढीले शनिबार भेडियाका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छेउको बस्ती हुँदै बगिरहेको छ । भेडियाका ५८ र मयनाकरेडीका ५० परिवार ज्यादा प्रभावित छन् । ‘कहाँ जानु के खानु,’ मयनाकरेडी नवटोलियाकी शीतलीदेवी खंगले भनिन्, ‘शनिबार बिहानदेखि ज्यानै जोगाउन दौडादौड छ ।’ उनका अनुसार उनको बस्तीमा कसैका घरमा शनिबारदेखि चुलो बलेको छैन । आफन्तले पठाइदिएको मुरही/चिउरा खाएर भोक मेटाउँदै आएको बताउँदै उनले भनिन्, ‘बाढी आउनेबित्तिकै दौडेर ज्यान जोगाउन अग्लो स्थानमा जानुपर्छ ।’ शनिबारको बाढीले घर–घरमा पसेको पानी सुक्न नपाउँदै बुधबार बिहानदेखिको निरन्तर वर्षाले बस्तीमा फेरि बाढी पसेको भेडियाका उपेन्द्र मुखियाले बताए । ‘एक/दुई संस्थाले दिएको १–२ किलो मुरहीले कति दिन पेट पाल्नु, बच्चाहरूलाई खुवाउनु कि आफू खानु ?’ स्थानीय उर्मिलादेवीले भनिन्, ‘सरकारबाट कुनै राहत आएन ।’ आफूहरू दिनरातै जाग्राम बस्नुपर्ने अवस्था आएको भेडियाकै शुभकलादेवी दासले बताइन् । बाढीबाट अति प्रभावित भेडिया र मयनाकरेडीका साथै तिलाठी, मलेठ, रायपुरको पौवा टोल, रघुनाथपुरलगायत गाउँका पीडितको अवस्था बेहाल छ । घरमा हिलो नै हिलो छ । चुलो बल्ने अवस्था छैन । खाद्यान्न र दाउरासमेत छैन । ‘सबै अन्नपात बगे, दाउरा पनि छैन, चुलोमा पानी छ,’ भेडियाकै देवसुनैर मुखियाले भनिन् । यस्तो बाढी यसअघि कहिल्यै नदेखेको स्थानीयले बताए । ट्युबवेलसमेत डुबेकाले उनीहरू बाढीकै पानी खान बाध्य छन् । यसले गर्दा अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् । उनीहरू रुघाखोकी, ज्वरो लगायत समस्याबाट पीडित छन् । भेडियामा मात्रै २० जनाभन्दा बढी बालबालिका बिरामी छन् । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बिहीबार स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइने जनाए । बुधबार दिउँसो राहत सामग्री आउने सुनेर घरबाट ३ किलोमिटर पानी जमेको बाटो पार गरी मयनाकरेडी पुगेका भेडियावासी रित्तै हात फर्किएका थिए । विभिन्न स्थानमा बाढीले पोल लडाएपछि शनिबारदेखि यस क्षेत्रमा विद्युत् छैन । बाढीले खेतीयोग्य जग्गा कटान गर्नुका साथै धान रोप्नका लागि ठिक्क भइसकेको बेर्नासमेत बगाएको छ । बाढीको त्रास र पीडामा रहेका दुवै बस्तीका बासिन्दाले राहतभन्दा पनि भत्केको बाँध पुनर्निर्माण गरिदिन माग गरेका छन् । मुहली खोलाले भत्काएको बाँध पुनर्निर्माण गर्न बुधबारदेखि सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.